९
म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित।
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
अहो कस्तो लीला? प्रकृतिजननीको हरि हरि।।
१०
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको।।
११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायें शिरभर सबै लर्कन सरी।।
१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा।
ठुलासाना नाना थकित बटुवाका नजरको
भयें मानू तारो उस बखत त्यो मार्गभरको।।
१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु।।
१४
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
घुमीहाल्यो मानू निमिषमय भै धेर पटक।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल।।
Page:Tarun tapasi.pdf/68
Appearance
This page has not been proofread
