This page has not been proofread
३१
कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा।।
३२
चराले झैं चारा फगत उदरै माफिक चरी
म भोली खाँला यो भनि बटुलने लोभ नगरी।
बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा
सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा।।
३३
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल।
अहो त्यस्तो राम्रो विहगकुलको चालचलन
शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन?।।
३४
अबुझ मनुजको यो मर्म वा दर्द खोली
मुनिवर चुप लागे वाक्य अर्को नबोली।
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा
फिर अलि छिनलाई बन्द भो टक्क सारा।।