२१
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी।।
२२
कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली।।
२३
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलिघरको।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
प्रभातीको ताना मधुर लिन थाल्यो पलपल।।
२४
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी।
उदाये वा आये जब रवि खुला नाट्यघरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा।।
२५
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी।
चरा मानू नीराजनविषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी।।
२६
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि।
यता छोड्छन् ताता सुखशयनको वासरमणी।
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश।।
Page:Tarun tapasi.pdf/58
Appearance
This page has not been proofread
