१५
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी।
कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस्
म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर रहोस्।।
१६
बुढा, पाका, बाला, युवक, अधबैंसे सब जना
बसी त्यो छायामा अलि छिन शुकायेर पसिना।
उठीजाँदा हेरी खुशिसित जटामण्डलतिर
कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्यशिखर।।
१७
बित्यो एवंरीत्या सकल दिन, सन्ध्यासमय भो
जटामा त्यो सारा रविकिरणधारा विलय भो
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि।।
१८
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
यता त्यो चौकीको वरपरि हजारौं अगि सरे।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली।।
१९
कठै चाँडो चाँडो जठरहरिको पूजन गरी
सिह्रानैमा भारी, हरउपर बर्कोकन धरी।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा।।
२०
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
पला झैं गैहाल्यो थकित तिनको दीर्घ रजनी।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
चिर्यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी।।
Page:Tarun tapasi.pdf/57
Appearance
This page has not been proofread
