This page has not been proofread
१२
जटाका लट्टामा चपल चिडियाको चहचह
उता त्यो चौकीमा विविध बटुवाको तहबह।
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
थियो मानू मेला मधुर उस वेला नगिचमा।।
१३
लगाई गालामा करकमल कर्के शिर गरी
बगाई आनन्दी सरस रसियाको रसझरी।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली।।
१४
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
हटाई हप्काई तमकसित ताक्तै, छडि पनि।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु।।