६
जगद्धात्री देवी प्रकृतिजननीमा विषमता
हुनाले झल्केको भुवनबिच के मिल्छ समता?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि।।
७
अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
लपेटेकै देखें उस विषमताले फनफनी।।
८
घडी झुम्रेझाम्रे मलमलिन ढाक्रे र भरिया
घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
थियें साक्षी जस्तो सकल बटुवाको म बिचमा।।
९
झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
उनी माला मोतीसदृश पसिनाको दिवसमा।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
सबै शोची (षी) लिन्थें म पनि गहना त्यो सुपथमा।।
१०
जती प्यूँथ्यो चौकी गरम पसिना पान्थजनको
उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको।
म भन्थें तत्कालै पर पर पुर्याईकन भुजा
यता झर्ने चर्का रविकिरण पार्छू सब कुजा।।
११
कडा राँको जस्ता रविकिरणको ताप फिंजिंदा
कठै बाटोघाटो रिपुमुलुक झैं दुर्गम हुँदा।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति।।
Page:Tarun tapasi.pdf/55
Appearance
This page has not been proofread
