६
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह किन उल्टो परुषता?।।
७
जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा।।
८
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा।
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी।।
९
कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी।
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि
'चरी आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि।।
१०
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा।
खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन
कठै यो हत्यारोपन त उस वेला समझिनँ।।
११
खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा।
तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ? हरि हरि।।
Page:Tarun tapasi.pdf/44
Appearance
This page has not been proofread
