This page has not been proofread
२१
कुनै वेला भेला भइ विहग सारा कचहरी
जमायेको देखी हतमति शिकारी अघि सरी।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
खस्यो चीं चीं गर्दै कठिनसित यौटा, अरु चले।।
२२
कठै चल्दो फिर्दो प्रकृतिपुतली त्यो निमिषमा
अकालैमा त्यस्तो गतिसँग परी कालवशमा।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो।।
२३
शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
छुनासाथै निस्क्यो कठिनसित 'चीं चीं, चिरिरिरी'।।