१५
कुनै कालो चिल्लो घनसम जटामण्डल घना
पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी।।
१६
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु।।
१७
म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी
पुजारी भै बस्थे चपल चिडिया लाखन थरी।
थियो तिन्को पूजाविधि ललित लीलारसमय
म दिन्थें पूजाको फल अतुल विश्रान्ति, अभय।।
१८
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै।
तिनैलाई ठान्थें परिजन तथा जीवन पनि
तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी।।
१९
पखेटाको हम्को, स्वरमधुरिमा कण्ठतटको
हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
म सम्झन्थें सारा मधुर परमाऽऽनन्दलहरी।।
२०
विधाताले मेरा उपर करुणाको वश परी
स्वयं वर्षायेका अमर नगरीका फुल सरी।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
उडीजाँदा देख्थें किन किन अँध्यारा दश दिशा।।
Page:Tarun tapasi.pdf/40
Appearance
This page has not been proofread
