This page has not been proofread
पञ्चम विश्राम
१
वचनामृत त्यो पियें जति
दिलमा प्यास बढ्यो अहो उति।
अब त्यो कब पाउँला भनी
अडियें निश्चल दीप झैं बनी।।
२
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा।
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको।।
३
निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोकलहरी।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि।।
४
बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि।।
५
थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको।।