२१
ठिटी झैं गर्थिन् ती नटखट; छिटी झन् पयरमा
थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा।
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी
कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश परी।।
२२
त्यही फागुद्वारा उस बखत मेरो शिरभरी
चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी।
म यो देखी आफैं मनमन बडो गद्गद भयें
वसन्तश्रीलाई प्रणयफुलको अञ्जलि दियें।।
२३
चढायेको मैले प्रणयफुलको अञ्जलि लिई
मलाई तत्कालै प्रथम वर वा नम्बर दिई।
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी
वसन्तश्री, उर्ले भुवनभर आनन्दलहरी।।
२४
म तेही वासन्ती मधुर छविको रङ्गरसमा
डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा।
डटें चौबाटोमा पथिक जनको आश्रय बनी
सबै लागे मेरो प्रणयवश भै गर्न सह्रनी।।
२५
त्यहाँदेखी मेरा जति जति बिते जीवनघडी
उती खुल्दैआये क्रमसित विपत्का हतकडी।
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो
उताको खातामा 'तरुण तपसी' नाम दरियो।।
२६
मसित सब बताई ई मिठा सत्य बात
नयनयुगल चिम्ले सिद्धले शान्तिसाथ।
हृदयबिच बिलायो श्वासनिश्वास सारा
मुनिमन पुगिहाल्यो पट्ट पल्लो किनारा।।
Page:Tarun tapasi.pdf/36
Appearance
This page has not been proofread
