Jump to content

Page:Tarun tapasi.pdf/35

From Nepali Proofreaders
Revision as of 19:39, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी ::उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी। त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी ::तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि।।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१५
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी।
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि।।

१६
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
सबैमाथी गर्दै जिउ जकडले शीतल टुना।
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो।।

१७
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
हुँदै आयें, पायें कठिन तपको स्वाद गुलियो।
अघीको शीतोष्णप्रभृति सब बाधा पर सर्यो
विधाताले मानू अभय पदमा दाखिल गर्यो।।

१८
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी।
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन्।।

१९
नयाँ हावा लाग्यो, जलथल भयो मञ्जुल नयाँ,
नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ।
नयाँ बोलीचाली, विषयरुचि निस्क्यो सब नयाँ
नयाँ भैगो मानू समयगतिले गैह्र दुनियाँ।।

२०
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
फिँजारी चौतर्फी मधुर सुखसौन्दर्यलहरी।
वसन्तश्री गर्थिन् सब तरुलतामा चहचह
छचल्किन्थ्यो जस्ले प्रणयरसको निर्मल दह।।