९
कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर
कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर।
थियो सारा पृथ्वीभर अगिपछी केवल खडा
धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा।।
१०
अहा त्यो वेलाको क्षणिक पनि आलोक रविको
मिठो मर्मस्पर्शी सरस कविता झैं सुकविको।
ठुला साना निर्धा धनिक सबलाई सम थियो
ममा जस्ले गर्दा अतुल समता जागृत भयो।।
११
म आत्तिन्थें ज्यादा जुन तुहिन पर्दा शिरभरी
गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी।
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी
कुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी।।
१२
उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,
प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता।
उदायो खम्बा झैं अटल रहने साहस ठुलो
भयो जस्ले मेरो मरणभयको ग्रन्थि खुकुलो।।
१३
विचारज्योत्स्नाले जुन जति थियो दोष मनको
सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको।
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो
सही बस्ता केही समय अथवा जीवन बित्यो।।
१४
लिई श्रद्धा एकै परहितमहामन्त्रजपको
बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको।
गरें जस्तो मैले जुन जति कुराका अनुभव
म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब?।।
Page:Tarun tapasi.pdf/34
Appearance
This page has not been proofread
