२८
लटाईको धागो तरलतम सङ्कल्प मनको
कका मस्कायेको उभयगति सुर्के पवनको।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि।।
२९
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
अनौठाको शोभा हृदयबिच भास्यो उस घडी।।
३०
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
थियो कस्तो कस्तो क्षणिक तिनको केलिसुषमा।।
३१
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये।।
३२
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
चलेको देखें त्यो चटकमय लीला हरि हरि।।
३३
अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी
ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
बिपत्ता गर्ने त्यो कुन सकस होला हरि हरि।।
Page:Tarun tapasi.pdf/30
Appearance
This page has not been proofread
