२२
म तेही लीलाले विकसित भयेकै समयमा
ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा।
कुनै चङ्गा आयें गगनबिच खेल्दै लडिबुडी
थियो जस्को डुब्दो बहुत धमिलो जीवनघडी।।
२३
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी।
उदेकाई थालें सरल मनले गम्न म पनि
विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी।।
२४
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी।
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्यो
भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्यो।।
२५
थिये खाली दोटा करङ बिचराका, तिनि पनि
उडायो कौवाले लगिकन बनाऊँ गुँड भनी।
जटामा अल्झेको फगत रिलधागो अलिकति
रह्यो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति।।
२६
कहाँ त्यो चङ्गाको ललितगतिशोभा गगनको
कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको
विधाताले मानू क्षणिकतम उत्थानपतन
क्रियाको झल्कायो झलक करुणासाथ मकन।।
२७
अहो हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी।
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
बिलायेको देखें गगनबिच खेल्दै लडिबुडी।।
Page:Tarun tapasi.pdf/29
Appearance
This page has not been proofread
