This page has not been proofread
१३
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
सुबिस्ताको साथै धृति र बल उत्साह मनको।
उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका
जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभरिका।।
१४
हवाको, पानीको, धरणिजननीको रसबल
लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल।
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
जमें, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी।।
१५
थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो।
चरा तेही मेरो मधुर मुहुनीको वश परी
परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी।।