७
कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले
कठै यस्तै चालासित कठिन धेरै दिन चले।।
८
यताको यो बोधा, तल पयरमा कीट कठिन
तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
सहाराले सारा मरि मरि सहें घात खलको।।
९
कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो
कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो।
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति
मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति।।
१०
कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन।
परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको?
थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र तपको।।
११
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन्।
कुनै जान्दो हो ता मनुज परपीडा अलिकति
मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती।।
१२
हजारौं ती धक्का रगडहरु खाँदै हरघडी
अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
हटे सुस्तै सुस्तै नियतिगतिले ती पशु पनी।।
Page:Tarun tapasi.pdf/26
Appearance
This page has not been proofread
