६
ठुला साना प्राणी चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्यविभव।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणयरसले देवनगरी।।
७
बढी, बाँचौं, भोगौं विषयसुख राम्रोसित भनी
तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि।
ठुलो को? सानू को? सम छ सबको जीवनविधि
सबैलाई प्यारो विषयसुखको यो जलनिधि।।
८
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
अहन्ताको एकै भुवनपतिको जीवनकला।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
उसैको सत्ता हो अनुभव लिने भित्र सबमा।।
९
'दया' भन्ने एकै मधुरतम पीयूषरसको
पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
उतालाई सोझै अमरपदवी हासिल गर।।
१०
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
अहो एकैनासे परम चितिको दिव्य चकमा।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर?
विवेकज्योत्स्नाले सकल धरणी शीतल गर।।
११
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी।
कलीलो यो मेरो वय छ, बटुवा हो जनि गर
चलाऊ बिस्तारैसित नजरकै साथ पयर।।
Page:Tarun tapasi.pdf/20
Appearance
This page has not been proofread
