Jump to content

Page:Buddhi binod.pdf/10

From Nepali Proofreaders
Revision as of 15:54, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

प्रजा धरामा धरणी फणीशमा
फणीश पानी-बिच पानी हो कहाँ ?
मिलेन विश्रान्ति जवाब हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३४॥

जमाउने सृष्टि सदा चतुर्मुख
उडाउने शङ्कर सृष्टिको सुख ।
हुँदैन होला झगडा अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३५॥

जगद्-व्यवस्था जसको छ सम्मत
उनै स्वयं कृष्ण पराङ्गना-रत
कहाँ गयो उत्कट वेद-बन्धन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३६॥

घसी खरानी शिरमा जटा धरी
श्मशानमा नित्य बनी दिगम्बरी
लडीरहेका शिव हो अहो ! किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३७॥

विलासिनी दिव्य अनन्त अप्सरा
छँदाछँदै यौवन-भार मन्थरा ।
फँसे अहिल्यासित इन्द्र गै किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३८॥