Jump to content

Page:Ritubichar.pdf/47

From Nepali Proofreaders
Revision as of 09:23, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread


तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति।
देखी हृदयले भन्छ अभिमान नले रती।।


वर्षामा मेघले ज्यादा दबायेका दिवाकर।
अत्यासले गलेछन् कि? चलेछन् कि उँधोतिर?।।


धैर्यको शान्तिको दिव्य नमूनातुल्य निश्चल।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल।।


हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम।
देखिन्छन् आत्मविद्याका सिद्धान्तसरि दुर्गम।।


बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली।
मूर्तिधारी तपस्वी झैं झल्कन्छन् हिमका चुली।।


हिमालका पखेरामा तलै लत्रे पयोधर।
शिवका कटिको लम्बा बाघाम्बरबराबर।।


निस्कँदा पद्मिनीनाथ छिचोली मेघको वन।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन।।


देखिन्छ अघिको भन्दा राम्रो कमलसंहति।
चर्को विनाशबेलाको बत्ती झैं विमलद्युति।।


थुँगा कमलका राम्रा देखिन्छन् पोखरीभरी।
आकण्ठ जलमा मग्न अप्सराका मुखैसरी।।