This page has not been proofread
विरहीजलको श्रेणी आँशुले परिपूरित।
पला पलामा दाँजिन्छ वर्षाको रजनीसित।।
पखालियो, बग्यो गैगो भलमा पुष्पको रस।
भयो भ्रमरका निम्ति यो वर्षाकाल नीरस।।
विधिले फूलको सार कदम्का फूलमा भरी।
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी?।।
गुणका भारले नम्र गुणीतुल्य अली तल।
झुके दारीमका हाँगा लागनाले ठुला फल।।
वनमा विरही बोली बोल्दछन् न्याहुलीचरी।
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी।।
मेघको शब्द सुन्नाले प्रेमले दङ्ग भैकन।
थाले मयूरका भाले नाची नाची कराउन।।
विरहीजनको छाती बन्चराले सरी चिरी।
बोल्दछन् मत्त भै तित्रा तित्तिरी, तित्तिरी गरी।।
मानी त्यो हंसको श्रेणी पुग्यो मानसरोवर।
अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र?।।
तामे ढुक्कुरका भाले करायेर घुमी घुमी।
नाचेका देखदाखेरी मन हुन्छ रिमीझिमी।।