This page has not been proofread
मेघमाला मिले एकैछत्त भै गगनैभरी।
उर्लंदै सिन्धुमा चारैतर्फबाट नदीसरी।।
नाट्यशाला छ आकाश, नाचले बिजुली नटी।
ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि धाकिटी।
घरीघरी त्यो देखिन्छे मेघमा बिजुली परी।
कृष्णका काखमा मानू लेटेकी राधिकासरी।।
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरीथरी।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभासरी।।
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो।
मेघले बिजुलीरूप झण्डा विजयको गड्यो।।
घनक्क पारी घन्काई गम्भीर जयडिण्डिम।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम।।
पहिला जलका बिन्दु जोरले जुन आउँछन्।
रूपमा पुतलीतुल्य धूपमा ती बिलाउँछन्।।
पहिले पृथिवीमाथि वर्षंदा जल दर्दरी।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी।।
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ।
स्वर्गीय सुखवर्षाको मनमा हर्ष आउँछ।।