This page has not been proofread
पृथिवीभर गर्मीको प्रवाहकन जाँचने। कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने।। ३५ ताता सडकका ताता पसिनाकन खल्खली। चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली।। ३६ स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख। पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख।। ३७ देखिन्छ पसिनापूर्ण पान्थको मुख त्यो घरी। रातो चुर्लुम्म पानीमा बुडेको कमलैसरी।। ३८ बिचरा बीच बाटाको जलशून्य कुवाकन। थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन।। ३९ प्यासका साथमा श्वास श्वाससाथै निराशता। उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता।। ४० हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल। जब पायो अनी आयो नवीन बलमङ्गल।। ४१ त्यो बेला त्यो सुधातुल्य पियेर जल कल्कली। लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि।। ४२ आमासमानकी निद्रा तत्कालै झप्प आउँछे। काखमा बटुवालाई राखी दर्द बुझाउँछे।। ४३