This page has not been proofread
नष्ट भो घामले गर्दा हवाको शीतलोपन। रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन?।। २६ बतास चल्दैचल्दैन चलिहाल्यो भने पनि। उष्णताले शकेसम्म बलेको हुन्छ दन्दनी।। २७ विधिले उग्र गर्मीको यो खलाँती फुकीकन। पसीनारूपमा मस्ती गलायो लोकको किन?।। २८ न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम। घन्क्यो घनक्क सर्वत्र घामको जयहिण्डिम।। २९ बन्यो मशान झैं शून्य तातेका दिनको स्थिति। निस्कँदैन कतै कोही माखोतक सितीमिती।। ३० निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा। देहभन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा।। ३१ मणिमन्त्राऽऽदिले रुद्ध नाग झैं हत गौरव। छट्टपट्ट गरी बस्छ गर्मीले जगतै सब।। ३२ शिरमा सूर्यको ताप, मनमा विरहाऽनल। बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल?।। ३३ तन गर्छ जलेवाको प्रशंसा, मीनको मन। प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन।। ३४