Bhikari/kisan
१
टाढा कुनातिर कतै रमणीय ठाउँ
जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
झुप्रो छ एक जसमाथि फुलेर आरु
सौन्दर्य आउँछ बिचित्र, पवित्र चारु ॥
२
बस्छन् त्यहाँ हृदय शुद्ध जहान चार
सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
बस्छन् त्यहाँ प्रकृतिका शिशुतुल्य चार
हेरेर भीर भर सुन्दरता अपार ॥
३
चल्छिन् सहर्ष सरिता परि नागबेली
टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
बारीभरी छ हरिया, कलिलो पलाई
देखेर छाति भरिने सुख भो मलाई ॥
४
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन् गाँसगाँस कति स्वाद किसानलाई ॥
५
त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥
६
सोझो सफा सडक जीवनको सुनौला
छन् काममा रत सधैं दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
७
आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली ।
हेरी उषाकन पहाड गजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥
८
सन्ध्या ठुला शिखर पश्चिमका सुहाई
स्वर्गीय-कान्ति अति सुन्दर, शान्ति छाई ।
बालेर बादल भुवा मुसकाउँदामा
फर्कन्छ त्यो घर भुलीकन लालिमामा ॥
९
नीला सफा गगनमा जब चन्द्र आई
त्यो कौमुदी विमलमा जगतै डुबाई ।
हेर्छन् प्रसन्न मुखले पृथिवी प्रियामा
बस्छन् अपार सुखले सब ती खुलामा ॥
१०
त्यो झोपडीसँग अनी जुन मिल्न जाँदा
देखिन्छ स्वर्गबिच बास अलग्ग साधा ।
सीधापनासँग महत्त्व मिली बनेको
छिर्का परी रुखमनी सुषमा भरेको ॥
११
फुल्दा यताउति सुवास दिने चमेली,
बेली, गुलाब, हसिना जुनसाध खेली ।
ताजा दुबो अति मुलायममा बसेर
बोल्छन् जहान सब शान्त किसाननेर ॥
१२
जाडो तमोमय निशाहरुमा मिलेर
बाल्छन् अनेक बटुलेर झिँजा र झार ।
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
झिल्कापिछे नयन बल्दछ बालिकाका ॥
१३
आनन्दले अधिक उज्ज्वल उच्चताले
हेरेर त्यो ज्वलन गद्गद उच्चताले ।
सानो किशोर सबका मुखमा निहारी
क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥
१४
वेदान्त, वेद उसका सब काम गर्नु
उस्का विलास दिलमा सुख, शान्ति भर्नु ।
लोभादिले नधमिलो उसको स्वभाव
गर्छिन् सधैं प्रकृतिले उसमा प्रभाव ॥
१५
छन् दिव्य दर्शन अनेक मुना मुनामा
सद्ज्ञान छन् प्रकृतिका हरिया कुनामा ।
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
फुस्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?