Bhikari/ban
आँसु खसाली रोइरहेथेँ जीवन वनको बीच ।
खोजी खोजी कतै नपाई मेरो मनका चीज ॥
टुटेफुटेका आशामाथि नयन दुःखका नीर ।
कहाँ कहाँको कता कताको मेरो मनको पीर ॥
लालसाले मोहनीको रूप गरी धारण ।
बोली गहना झल्काई, रुन्छौ तिमी कुन कारण ?
विलासको यो महल मनोहर, हुन्छु म तिम्री रानी।'
मैले बोलेँ, 'हुन्छ सबै यो भोलि धुलो र खरानी ॥'
कुबेर बोले, 'नोकरी लेऊ दिन्छु म दौलत अनगिन्ती ।
मेरा सेवक हेर उज्याला, सेज सुनौला झुल्छन् ती ॥'
मैले बोलेँ, 'धनका मालिक ! सम्झन्छु धनको मोल ।
अन्तस्करणको स्वतन्त्रता यो तर छ आहा ! अनमोल ॥'
ताज सुनौलो माथ लगाई यश आई फुसलायो ।
'मेरो पछि पछि आऊ भाइ, मौका सुन्दर आयो ॥
छाँटकाँटमा मिलिकन आऊ परिचित गर्छु तिमीलाई ।'
मैले बोलें, 'चिथरा लाउँछु, टेक्दछु सत्य म भाइ ॥'
शक्ति प्रियाले आई बोलिन्, 'दिन्छु म मिठो मेवा ।'
मैले बोलें, 'मेरो अमृत मानिसहरूको सेवा ॥'
योगी बोले, 'चढाऊ समाधि खुल्छ तिमीकन स्वर्गद्वार ।'
मैले बोलें, 'हेर्नु छ मैले भाइहरूको घरबार ॥'
बोले इन्द्र, 'छ सुरपुर सुन्दर झिलिमिलि मेरो दरबार ।'
मैले बोलें, 'बाल्नु छ बत्ती अझ छ अँध्यारो संसार ॥'
दुःखले बोल्यो, 'काँढा बिझ्ला ।' मैले बोलें, 'फुल्ला फूल ।'
शङ्का बोली, 'फूल नफुल्ला !' मैले बोलें, 'स्वस्थ छ मूल ॥'
जीवन बोल्यो, 'समर छ भीषण' मैले बोलें, 'गद्गद वीर ।'
कठिनाइले बोली, 'पहाड छ' बोलें, 'छुन्छु कि स्वर्गै शीर ॥'
धर्म बोले, 'कुन मन्दिरमा पूजा गछौं ? आऊ ।'
मैले बोलें, 'वीरहरूको बलिदान भएको ठाउँ ॥'
सहानुभूतिले सकरुण बोलिन्, 'तब किन रुन्छौ भाइ ?'
मैले बोलें, 'समय छ छोटो सेवा गर्न मलाई ॥'
'दोस्त कहाँ छन् ? साथ छ को को ? घर हो तिम्रो कुन देश ?
जान्छौ कुन पुर भवन मुसाफिर, ल्यायौ कुन सन्देश ?'
'दोस्त मेरो शुभ उद्योगी, साथ छ साहस बेश ।
विश्व सबै घर, हृदय-पुरीतिर ल्याउँछु सेवा सन्देश ॥'