Jump to content

Page:Munamadan.pdf/44

From Nepali Proofreaders
Revision as of 02:39, 16 March 2025 by Rbn (talk | contribs)
This page has been proofread

सुनका थैला लिएर आएँ, चढाएँ पाउमा,
पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा,
आमा ! भनेको ठाउँमा !
कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगार्‍यो,
दिलले दर्द नपोखी, हान्यो दैवले झटारो !
फर्क न फर्क हे मेरी आमा ! माथि नै हेर्छ्यौ नि !
उठाई औँला माथि नै आमा ! इशारा गर्छ्यौ नि !
आमा ! कलेजा चिर्छ्यौ नि !"
लौन नि ! लौन !' भनेर उठे मदन जुरुक्क,
मूर्छामा परे पाउमा, देखी गलाको हिरिक्क !
छोराको मुख हेरेर गइन् कठै ! ती घुरुक्क ।
हा कठैबरी ! ती बूढी घुरुक्क !



"भन न भन हे मेरी दिदी ! ती मुना कहाँ छिन् ?
आमाको यस्तो बिछोड पर्दा देख्तिनँ यहाँ झन् !"
"हे मेरा भाइ ! ती मुना छैनन् यो तिम्रो घरमा,
मावल जान ती बिदा भइन् बिछोड परेमा !
ह्लासामा जाँदा बिछोड परेमा !"
"स्वर्गमा गइन् ती मेरी आमा, तिन्लाई छाडेर,
कसरी गइन् बिचरीलाई टुहुरी पारेर ?"
"बुहारीमध्ये कुँदेको हीरा, भएर बिरामी,
मागेर बिदा सबैका साथ, सार्‍है नै बिरामी !
भएर गइन् सार्‍है नै बिरामी !"
"कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ?
पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?"