Jump to content

Page:Munamadan.pdf/48

From Nepali Proofreaders
Revision as of 02:26, 16 March 2025 by Rbn (talk | contribs) (Proofread)
This page has been proofread

"पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ ! गएर भोलि भेटुँला तिन्लाई,
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !"

मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो,
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरूको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ,
मदन भन्छन्, "चरक पढ, सुश्रुत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ,
मनको रोगको औषधि के हो ? मलाई बताऊ,
सम्झना भन्ने छटपटी हुन्छ, दर्शन-पियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँवरीभित्र मुटुमा दुख्दछ !
लक्षण सारा बाहिरबाट मनमा लुक्दछ !'
वैद्यले हेर्‍यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता ! औषधि पाएन,
दिनका दिन झन् सार्‍हा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
"हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्‍याऊ ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरू अकेली आमाको !
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटको,
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।"