Jump to content

Page:Munamadan.pdf/17

From Nepali Proofreaders
Revision as of 20:06, 13 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

    बीचबीचमा तर अमोल झल्क्का पाइन्थे पथमा,
    नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा,
    आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा !
    प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः ।
    बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र
    गर्जनतल, इन्द्रेनीतल,
    झुल्कन्छ घाम, तल छ जल
    माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र ।
    स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
    चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई,
    सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
    लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र,
    'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?'
    मनमन भन्थे मदन त्यहाँ 'यहाँ क्या जीवन छ !
    हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी,
    विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी'
    कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,
    गुञ्जायमान शीतल पर्वत शीकर-दानाले,
    अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न,
    प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न !
    ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने
    हिउँको दाँत झन् तीखो बतास दार्‍हा नै किटाउने,
    विचित्र जन्तु सैरने वन गोधूली-छायामा,
    कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा ।
    कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल
    शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल,
    जीवनको मीठो आनन्द चर्को हरियो हावामा
    उद्गार गरी थरी र थरी,
    फुर्फुरी गर्ने भुर्भुरी लिने,
    उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा,
    पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा,