Jump to content

Page:Munamadan.pdf/41

From Nepali Proofreaders
Revision as of 17:01, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र ।
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ'
भनेर दिँदा बलले भन्थिन् 'मदन कहाँ छ ?'



कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो ।
नजर फिर्‍यो, पसीना पुछी बोले ती बटुवा,
'सुबोल् सुबोल् हे ! ठाउँ सरी बस्न, आकाश-डुलुवा !
हेरेर आइसु ती आँखा तानी के मे शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवावेद खाई !'
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
'कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर ।
बुझदैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !'
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !



शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप ।