- मुना–
नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई !
ननिभ्ने गरी विरह जलाई !
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए !
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
प्यारा विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए,
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा ! आँसुले बोल्दैन !
- मदन–
हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
प्यारी ! भेटको बडा दिन !
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा ।
अनार-दाना दाँतका लहर खोलेर हाँसन,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन ।
प्यारी ! बिदामा हाँसन ।