- मुना–
हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
भीरका भोटे, वनका जन्तु, गाईको आहार
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !
- मदन–
नभन त्यसो ! बुझन मुना ! थुँगा झैँ त्यो पाउ,
वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नआऊ !
ती यौटी आमा, लच्छिनकी बत्ती, नछाड सुसार,
तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
ती हेरी बसून् यो चन्द्रमुहार !
- मुना–
फुलेका केश गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जङ्गली देश बेपारी वेश सङ्कट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले !
हे मेरा प्यारा ! अमीरी मनले !
- मदन–
हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा ।
ती आमालाई दूधको घुड्काले गला रसाऊँ,
उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ,