This page has not been proofread
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ,
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ ।
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ ।
मलाई सानो पातलो गाउँ पहाडी नालीमा,
मसिनो सानो वनचरी-कुर्लून् जल बोल्ने थलोमा,
शहरबाट सुदूर नीरमा मोहनी कुनामा,
गन्धर्व परी नेपाली कुर्लून्, प्रकृत टुनामा ।
हृदयले नै डोर्याई भाषा अर्थलाई मन्त्रेर,
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर ।
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन,
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन ।
पेशाले बिग्र्यो कविको धर्म, शब्दले मम्र्मघात,
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात ।
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,
आदिम तर नवीन चीजको वजन गुन्नेछन् ।
यो सानो झ्याउरे गीतको कथा नजर लगाई,
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई !