स्वरूपमा अतिमानव सन्तानोत्पादनका लागि अश्वयकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृतिदेवीले ?
उनीलाई यी भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट बच्नैपर्छ । के चम्पाको दोष थियो यस विषयमा ? …. उनी पहाडकी फूल थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो । त्यो त अबलाको प्राकृत कला र कर्म नै हो ।
उनी बैँसालु हुनु र यसरी सुन्दरी हुनु उनको दोष जरुर होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग गरेर परमार्थ सुधार्नु बेस ? …..
उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर घचघच्याउँदथे, बराबर जोडका साथ तर दबाब नै उनले हरहमेसा स्मरणीय पाठ सम्झन्थे तर दबाब प्रकृतिले कानेखुसी गर्न आँउथिन्, के दबाब स्वास्थ्य हो ? रातका बिचमा रामकान्तलाई बराबर विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीपझैँ एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक दुई बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन आज होइन । म बुद्धदेवजस्तै कहाँ छु र ?
प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित-बदमाश बैँस अगाडि झल्याक्क झुल्लुक्क देखाहा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । दृष्टिक्षेत्रबाट संसार अध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो । कत्रो भयानक सौन्दर्यको ज्वाला ? ……. मानो ऊ आफ्नो जगत्को सम्राट् छ । उसको आज्ञाको विरोध गर्न कसैको ताकत थिएन । ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो- पुरुषको पौरुषलाई के विघ्न डरलाग्दो ?
रामकान्त तँ मर्छस् । खामोस । होसियार । तँ बत्तीमा पुतली भएर नहोमिई । रामकान्त गीता पढ्न लागे र धर्मपद पढ्न लागे ।