This page has not been proofread
जिन्दगीको मौसम
जिन्दगीको मौसम रहँदै
खन खन दिलको खेत ।
बाँझो नहोस् पानी पर्दै
चेतन जल शुद्ध सफेद ॥
अनन्त ठूलो सागरबाट
घुमी घुमी मौसम आयो ।
खूब फुल्दछ दिलको माटो
वर्षाले गान सुनायो ॥
इन्द्रिय गोरू शरीर हलोमा
बाँधी बाँधी खन खन खेत ।
बिउ छन् जगमा कर्म हजारौं
रोप फुलाऊ लह लह खेत ॥
जिन्दगीको मौसम रहँदै
खन खन रोप फुलाऊ ।
पर्खन्न कसैलाई काल निठुरी
हाय यसै ननिदाऊ ॥
रोप रोप सब बिउहरू अहिले
अन्न फलोस् पछिलाई ।
नरुनु पछाडि आउँछन् जहिले
हिउँद कडा तिमीलाई ॥