छब्बिस
आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक हप्ताअगाडिदेखि नै रोपाइँ सिद्धिसकेकाले उनको परिवार विजेताझैँ प्रफुल्ल भएर फुलिरहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ भत्किहाल्ला, खसिहाल्लाको अवस्थामा पुगिसकेको । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइसकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालिहाल्छ । यस कारण पानी परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।
रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, खेतमै सुत्थे । उनको माचाछी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे । आज वर्षा भइरहेकाले पानी चुहिरहेको थियो, सबै सँगै भात खाइरहेका थिए । भात खाँदै लप्तमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ– नखाइ गरेर पनि यसपालि त घर बनाउने कोसिस गर है बाबू ! मलाई