"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा रामबहादुरले भने ।
"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु– एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले भने ।
"साह्रै बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर राम बहादुरले भने ।
"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।
"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?" अलि नरमजस्तो भएर रामबहादुरले भने ।
"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि दिन्छु– फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव नारानले भने ।
ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू कुरा गरिरहेको ठाउँमा आइपुगे । शिव नारानका घरमा भएका मानिस जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने– "तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिव नारान ! मरि