Jump to content

Page:Ek chihan.pdf/102

From Nepali Proofreaders
Revision as of 21:38, 20 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

देखिन् । त्यसैले नानीथकुं दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइरहेकी छिन्, वाल्ल परिरहेकी छिन् ।

यही दोमन दोधारको चक्करमा परी नानीथकुं अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परिरहिन् । नानीथकुंबाट केही जबाफ नपाएर डाक्टर गोदत्त प्रसादले फेरि भने- "जाऔं हिँड नानीथकुं। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडिआएको छु, जाऔं ! शुभसाइतले तिमीलाई हाँसेर पर्खि रहेको छ ।" नानीथकुंको पाखुरा तान्दै डाक्टर गोदत्तप्रसादले भने ।

"आजलाई भैगो डाक्टरसाहेब ! भोलिपर्सि विचार गरुँला ।" नानी‍थकुंले नम्रतासाथ भनिन् ।

"प्रेममा विचार गरिन्न, नानीथकुं । त्यो त आफैं हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" प्रेमप्लावित भावमा डाक्टर गोदत्तप्रसादले भने ।

"डाक्टरसाहेब ! आजलाई माफ गर्नुहोला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टरसाहेब ! दाइहरू आउनुभयो भने नचाहिँदो आपत्ति बोक्नुपर्ला ।" यति भन्दै नानीथकुं सरासर माथि उक्लिन् ।

अझ पनि एकछिन डाक्टर गोदत्तप्रसाद छिंडीमा पर्खि नै रहेका थिए । नानीथकुंले फेरि तुरुन्त ओर्लेर भनिन्- "जानोस् भन्या डाक्टरसाहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नुभएको छ । गैहाल्नोस्, गैहाल्नोस् !"

यति भनी नानीथकुं फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्तप्रसाद पनि बडो खिन्न भएर फर्के ।