"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि ‘हा !’ भन्ने छैन के म ।" ठट्टाकै भावमा शिवनारानले भने ।
"छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्
"नीद आएको देखेर त ‘नसुत, ठट्टा गर’ भनेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिवनारानले मुस्कुराउँदै भने
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।
"एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिवनारानले भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको ‘रानी’ भन्नुपर्छ !"
"त्यसो भए मलाई भन त ‘राजा’; मलाई त मन पर्छ ।
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी ‘राजा’ हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म ‘रानी’ हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिवनारान हातमा लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिवनारानको पछि पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिवनारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई साह्रै नै पिटे ।"
"भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको