"किन ?" दिक्क लागेको भावमा रामबहादुरले सोधे ।
"किन ? प्रश्नको फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनुहोला ।" शिवनारानले गम्भीर जबाफ दिए ।
"तैपनि केकति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम बहादुरले कोट्टयाएर सोधे ।
"कुन कुरा चित्त नबुझेको बताऊँ रामबहादुरजी ! प्रस्ट थाहा पाउन चाहनुहुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला- एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिवनारानले प्रस्ट भनिदिए ।
"तिमीले सुब्बासाहेबको साह्रै अपमान गरिरहेछौ शिवनारान !"
"तपाईं जे सम्झनोस् ।"
"तैपनि तिमीले समालिएर बोल्नुपर्ने । यसरी बेसोमत प्रकट गर्नु मनासिब छैन ।"
"निधो जबाफ माग्नुभएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनुहुन्छ भने अफसोसको कुरा छ राम बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइरहूँ !"
"तैपनि तिमीले होसियार भएर जबाफ दिनुपर्ने । उहाँ र आफ्नो अवस्था पनि त तिमीले हेर्नुपर्छ ! ‘सानो मुख ठुलो कुरा’ नहुनुपर्ने !" अलि रिसाएर रामबहादुरले भने ।
"अलि मुख समालेर बोल्न सिक्नोस्, रामबहादुरजी ! धेरै सहनु भनेको जल्लाई पनि गाह्रो हुन्छ, तपाईं यसको पनि विचार गर्नुहोला ।" शिव नारानले पनि अलि रिसाएर जबाफ दिए ।
"त्यसो भए त सुब्बासाहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? अलि ठन्डा मगजले सोच्ने काम गर शिवनारान ! पछुताउनु नपरोस् ।" धम्क्याएर रामबहादुरले भने ।
"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिवनारानले पनि अलि दह्रो भएर जबाफ दिए ।