वियोगमा रुन मन लाग्ने, घरी रञ्जनादेवीले भनेको कुरा ‘हो’ प्रतीत भएर पछुताउ लागेर आउने, घरी शिवनारानको डर लागेर आउने; यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्रेमले उनलाई तुरुन्तै डाक्टर गोदत्तप्रसादकहाँ दौडाउन खोज्ने, सामाजिक परम्पराले समाजका सम्पूर्ण चित्र आँखाअगाडि नचाइदिने जस्ता अन्तर्द्वन्द्वको अगाडि बिचरी नानीथकुंको केही लागेन । तानमा मन नडुबेको हुनाले बुन्नुको सट्टा धागो अल्झेर बिग्रने मात्र भइरह्यो अनि त्यहाँबाट पनि जुरुक्क उठेर नानीथकुं जान खोजिन् । नानीथकुंको यो अभूतपूर्व परिस्थिति देखेर लतमायाले भनिन्- "के भयो, नानीथकुं ! आज तिमीलाई कपाल दुखेको मात्र होइन, अलि दिक्दार पनि देखिन्छयौ ?"
"केही भएको छैन अरू थोक त, तर अगिभन्दा पनि अहिले झन् कपाल दुखेर आयो आमा ! जान्छु म पल्टन एकछिन फेरि ।" नानीथकुं फेरि कोठामा सरासर गइन् र बिछ्यौनामा पल्टिन् ।
उता डाक्टर गोदत्तप्रसादको पनि उही हालत । नानीथकुंलाई एक बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम आइपर्दा उनले दुई घण्टा बढी अस्पतालमा अलमलिनुपरेको थियो । एक बजेको ठाउँमा तीन बजिसक्यो, छटपटाएर उनी कुद्दै घर आए । घर आउँछन् त नानीथकुं नदारत । रञ्जनादेवीसँग त सोध्नै भएन । नसोधेजस्तो गरी उनले घरमा नोकरचाकरहरूबाट नानीथकुं आएर घण्टौं बसेर गएको खबर पत्ता लगाए । अनि त झन् उनको मनमा बेमज्जा बढ्यो । किताब, अखबार पढेर दिक्दारी बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन ।
यत्तिकैमा रञ्जनादेवीले दिउँसोको खानेकुरा ल्याएर डाक्टर गोदत्त प्रसादको अगाडि राखिदिइन् । खान पनि डाक्टर गोदत्तप्रसादलाई बिलकुलै मन लागेको थिएन तर रञ्जनादेवीको डरले, उनले केही भन्लिन् भन्ने सम्झेर मन नलागे तापनि कोचीकोचीकन उनले खानेकुरा खाए । खाना उनलाई ज्यादै नमिठो लागेको थियो ।
खानपिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर गोदत्तप्रसाद सरासर नानीथकुंको घरमा लम्कँदै गए ।