Jump to content

Page:Ek chihan.pdf/48

From Nepali Proofreaders
Revision as of 11:48, 13 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइरहेकी लतमाया रामबहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई रामबहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा मन्जुर भयो, तैपनि ‘हुन्छ’ नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न सकिनन् । त्यसैले उनले रामबहादुरलाई यति मात्र भनिन्- "छोराहरूसित पनि एक चोटि सल्लाह गरूँ।"

छोराहरूमा पनि अष्टनारानको स्वाभिमानी आत्माको छाया परेको छैन होला भन्ने रामबहादुरलाई विश्वास भएन । त्यसैले झट्ट रामबहादुरले भने- "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन गर्ने ? तिमीले ‘हुन्छ म यस्तै गर्छु’ भनेपछि उनीहरूको के लाग्छ ? मेरो सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरिरहने होइन कि ‘तिमीहरूको पिताज्यूको वचन गइसकेको हुनाले मैले पनि वचन दिइसकें’ भनी सरासर भनिदेऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, सुब्बासाहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नुहुनेछ ।"

लतमाया रामबहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही जबाफ दिइनन् । तर उनलाई रामबहादुरको सल्लाह मिठो लागिसकेको थियो । "मैले भनेजस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै रामबहादुरले भने ।

अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् ।

"है त, ‘हुन्छ भनी’ भनेर सुब्बासाहेबलाई भनिदिऊँ ?" रामबहादुरले फेरि भने ।

"पर्खनुहोस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । "त्यसो भए कहिले आऊँ त ?"

"आइरहनुहोस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर जबाफ दिइन् । "लौ त्यसो भए म पर्सि नै आउँछु ।"

लतमायाले केवल टाउको हल्लाएजस्तो गरिन् । रामबहादुर हाँस्तै सरासर गए ।