Jump to content

Page:Ek chihan.pdf/17

From Nepali Proofreaders
Revision as of 15:26, 10 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने ।

जबाफ दिएपछि र बोलिरहेपछि अष्टनारानको झन् बोलिरहने बानी थाहा पाएर शिवनारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एकछिनपछि शिवनारान त्यहाँबाट उठेर गए ।

शिवनारान गइसकेपछि अष्टनारानले माहिला छोरा पुननारानलाई भने- "तिमी पनि आफ्नो काममा जाऊ पुननारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरिरहनुपर्दैन । आफ्नो काममा डटिरह, यही तिम्रो परम कर्तव्य हो ।"

"हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाए त्यस्ता काम त लाख आउँछन् ।" पुननारानले भने ।

अलि हाँसेर अष्टनारानले भने- "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरिरहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरिरहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हाम्रो यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको ।"

बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुननारान पनि केही बोल्न सकेनन्, उनी चुप लागिरहे । अष्टनारान पनि एकछिन चुप लागे ।

अष्टनारान फेरि बोले- "भैगो लौ, मलाई नकुरिनहुने भए एक जना बस । जम्मैका जम्मै कामकाजै छोडेर कुरिरहनाको केही मतलब छैन । लौ जाऊ, हर्षनारान पनि जाऊ, नानीथकुं पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइसकेकी यही बुढिया बसिरहोस् । सबै किन बस्नु परेको छ ?"

यति बोलिसकेपछि अष्टनारानलाई थकाइ लागेर आएजस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसिरहेपछि फेरि अष्टनारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसिरहिन् ।