Jump to content

Page:Ek chihan.pdf/10

From Nepali Proofreaders
Revision as of 15:03, 10 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

चार

राम्ररी जाँचबुझ गरिसकेपछि डाक्टर गोदत्तप्रसादले प्रेस्क्रिप्सन लेखि दिए । प्रेस्क्रिप्सन लेख्तालेख्तै बाबुले लाएको लुगाको तुना बाँधिरहेकी नानीथकुंप्रति हेरेर डाक्टरले भने- "झट्ट लुगा लगाई खास्टोले छाती छोपि हाल । हावा लाग्न दिनुहुन्न, अलिअलि निमोनियाले पनि छोइसकेको छ ।"

प्रेस्क्रिप्सन लेखिसकेपछि डाक्टरले भने- "दिनको दुई मात्रा मिक्स्चर ख्वाउनू, पुरिया औषधी पनि लेखिदिएको छु, त्यो दिनको दुई मात्रा खाना खानुभन्दा अगाडि ख्वाउनू अनि दुई दिन लगातार एउटा इन्जेक्सन पनि दिन लाउनू, इन्जेक्सन राम्रो जान्ने कम्पाउन्डरबाट दिन लाउनू ।"

बिरामीको कोठाबाहिर आएर जान लाग्दालाग्दै डाक्टरले भने- "राम्ररी हेरविचार गर्नू, व्यथा अलि कडै छ, म भरे पनि एक चोटि आएर हेर्ने छु । बिरामीलाई एक्लै नछाड्नू ।"

बिरामीको बारेमा बाहिर गएर अवश्य केही कुरा बोल्ने शङ्का भएर हिँड्नासाथै नानीथकुं पनि सँगसँगैजसो गएकी थिइन् । डाक्टरको कुरा सुनेर नानीथकुंले मुख अँध्यारो पारिन् ।

नानीथकुंले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले भने- "किन यस्तरी मुख बिगारेकी नानी ? धन्दा नमान, म सकेसम्म कोसिस गर्नेछु ।"

नानीथकुंसित यति बोली डाक्टर गोदत्तप्रसादले लतमायातिर फर्केर भने- "यिनी को हुन् आमै ? तिम्री छोरी हुन् कि ?"