एक
छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही सुनि दिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख । यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"
अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी थिई ।
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।" जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।
"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"