स्वरुपमा अतिमानव सन्तानोत्पादनको लागि आवश्यकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृतिदेवीले ?
उनलाई यो भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट बच्नै पर्छ । के चम्पाको दोष थियो यस विषयमा ? उनी पहाडकी फूल थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ, स्वर्गकी अप्सरा, उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैंसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो । त्यो त अवलाको प्रकृत कला र कर्म नै हो ।
उनी बैंसालु हुनु र यति सुन्दरी हुनु उनको दोष जरुर होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग गरेर परमार्थ सुधार्नु बेस ?
उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरु बराबर घचघच्याउँदथे, बराबर जोडका साथ । तर दबाब नै उनले हरहमेसा स्मरणीय पाठ सम्झन्थे । तर दबाब प्रकृतिले कानेखुसी गर्न आउँथिन्, के दबाब स्वास्थ हो ? रातका बिचमा रामकान्तलाई बराबर विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीप झैं एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक–दुई बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन । "म बुद्धदेवजस्तै त कहाँ छु र ?"
प्रतिदिन मतवाला आकर्षक भरिंदो सुगन्धित बदमाश बैंस अगाडि झल्याक्कझुलुक्क देखा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । दृष्टि क्षेत्रबाट संसार अँध्यारो पारे झैं फेरि कतैतिर जान्थ्यो । कत्रो भयानक सौन्दर्यको ज्वाला ? मानौं ऊ आफ्नो जगत्को सम्राट छ । उसको आचारको विरोध गर्ने कसैको तागत थिएन । ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको थियो । ऊ सारा जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो— पुरुषको पौरखलाई के विघ्न डरलाग्दो ?
"रामकान्त तँ मर्छस् । खामोस ! होसियार ! तँ बत्तीमा पुतली भएर नहोमिई ।" रामकान्त गीता पढ्न लागे । धम्मपद पढ्न लागे ।