Jump to content

Page:Tarun tapasi.pdf/93

From Nepali Proofreaders
Revision as of 17:47, 12 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread
चतुर्दश विश्राम


अलि बेर पछी तपोधन
तपसीको मुख-पद्म पावन ।
ढकमक्क भयो पुरा पुरा
चुहिहाले मकरन्द झैँ कुरा ॥


खिचातानी हेर्दै गरम पसिनाको छक परी
झुकेको मौकामा प्रकृति-जननीले शिरभरी ।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
जुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन थरी ॥


लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
जती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
उदेकायेँ खाली नलिइ पिर वा दर्द मनमा ॥


गरी यै ढाँचाले परहित सदा भक्तिसहित
बिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत ।
भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिले
सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥


म भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुका
लुछिन्थेँ, लाछिन्थेँ, उहि सब भयो कारण फुका ।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
म लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥