९
म ब्यूँझें, भेट्टायेँ चटकमय त्यो खाद्य खचित
भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित ।
स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरी
अहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि !!
१०
अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामेँ, थामेँ लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको ॥
११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायेँ शिरभर सबै लर्कन सरी ॥
१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुला-साना नाना थकित बटुवाका नजरको
भयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको ॥
१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥
१४
खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटक
घुमी-हाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥
Page:Tarun tapasi.pdf/68
Appearance
This page has been proofread
