Jump to content

Page:Tarun tapasi.pdf/130

From Nepali Proofreaders
Revision as of 21:12, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२४
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी ।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥

२५
उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु
अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।
बिलायो त्यो कालो सकल अघिको संशयनिशा
रँगायेको देखें तप र तपसीले दश दिशा ॥

२६
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य ।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥