१२
हुरी, आँधीब्यारी, विकट हिमवर्षा र असिना
कडा लूको धक्का, तरतर लगातार पसिना ।
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति
तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति ॥
१३
सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै
रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै ।
सहन्छन् जो चर्को तपविषयको कष्ट कसला
कठै उस्को दिन्छन् प्रतिफल करौंती र बसिला ॥
१४
गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका
निकाली त्यैद्वारा तपकुसुमका मञ्जु कलिका ।
जथाभावी तोड्दै मनुजकुल सर्वत्र छरियो
अबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥
१५
त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्रसमा
गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धिसुषमा ।
रहे बाँकी थोरै, हरकिसिमको छेदनविधि
खडा भो, साथै त्यो नगिच नगिचै मृत्युपरिधि ॥
१६
ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू
कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु ।
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौं थरि बनी
जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥
१७
कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला
कसैका काटिन्छन् कटकट कठै हात डुँडुला ।
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्
तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन् ॥
Page:Tarun tapasi.pdf/127
Appearance
This page has not been proofread
